वीरगन्ज । भारतीय सेनाले ‘अपरेशन सिन्दुर’ नाम दिएर पाकिस्तान शासित काश्मिरमा गरेको हवाई आक्रमणलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहले समर्थन गरेका छन् ।

‘आतंकवाद विरुद्ध गरिएका यस्ता कार्यबाहीको लोसपा नेपालले समर्थन गर्दछ । विश्वको जुनसुकै कुनामा हुने आतंकवाद विरुद्धको कार्यबाही प्रति लोसपा नेपाल एकियद्धता समेत जनाउँदछ ।’ लोसपा महासचिव सुरेन्द्र कुमार झाद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा सम्पन्न गरिएको ‘अपरेशन सिन्दूर’ नामक हवाई आक्रमणलाई पूर्ण समर्थन प्रकट गरेको छ ।
‘यस अपरेशन अन्तर्गत भारतीय सुरक्षाफौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ । हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए । यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाही हो ।’ हामी नेपाल सरकारसँग माग गर्दछौं कि उसले पनि यो भारतीय कारबाहीप्रति समर्थन जनाओस्, किनभने आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा छैन–यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।’समूहका अध्यक्ष राजिव झाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

समूहले आतंकवादविरुद्ध भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गरेको छ । साथै सम्पूर्ण दक्षिण एशिया शान्ति, स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुने आशा गरेको छ । भारतको जम्मुकश्मिर राज्यको पहलगममा भएको आतंकारी आक्रमणमा एक जना नेपाली नागरिक सहित २९ जना पर्यटकहरुको हत्या गरिएको थियो । हत्यापछि भारत–पाकिस्तानबीच द्वन्द्व बढेको छ । दुवै देशले एकअर्का विरुद्ध चर्को टिप्पणी तथा आरोप–प्रत्यारोप गरिरहेका छन् । सोही घटनाको प्रतिक्रिया स्वरुप भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको बताइएको छ ।