ट्रेन्डिङ

भारतको अपरेशन सिन्दूर : अहिलेसम्म के के भयो, को कति बलियो ?

वीरगन्ज । भारतले ‘अप्रेशन सिन्दूर’ नामक सैन्य कारबाहीको प्रारम्भ गर्दै पाकिस्तानभित्र रहेका आतंकवादी शिविरहरूमा लक्षित हवाई आक्रमण (एयर स्ट्राइक) गरेको दाबी गरिएको छ ।

स्रोतअनुसार, भारतको वायु सेनाले उच्च प्राविधिक हतियार प्रयोग गरी लक्षित संरचनाहरूमा आक्रमण गरेको हो । भारतले गरेको मिसाइल हमलाले पाकिस्तानको घना बस्ती भएको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित ‘आतंकवादी पूर्वाधार’ लाई निशाना बनाएको भारतीय मिडियाले जनाएका छन् ।

यो हमला भारत प्रशासित कश्मीरमा भएको पर्यटकहरूको हत्याकाण्डको दुई हप्ताभन्दा बढी समयपछि भएको हो, जसलाई नयाँ दिल्लीले आफ्नो छिमेकीमाथि दोष लगाएको थियो । भारत प्रशासित कश्मीरको सबैभन्दा ठूलो शहर श्रीनगरका प्रत्यक्षदर्शीहरूले शहरमा विस्फोट भएको बताएका छन् । शहरको विमानस्थलका निर्देशकले विमानस्थल नागरिक उडानका लागि बन्द गरिएको बताए ।
यस घटनाले दुई देशबीचको सम्बन्धमा पुनः तनाव उत्पन्न हुने देखिएको छ ।

भारतको पाँचवटा सैन्य जेट खसालेको पाकिस्तानको दाबी
भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ । भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग–२९ र एक एसयू– ३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको हो ।

विभिन्न स्थानमा विद्यालय बन्द
भारत र पाकिस्तानबीच बढ्दो तनावको अवस्थामा विभिन्न क्षेत्रमा विद्यालय बन्द भएका छन् । भारतको आक्रमणपछि पाकिस्तानले राजधानी इस्लामावाद र पन्जाब प्रान्तमा विद्यालय बन्द गरेको हो । यस्तै कश्मीरका कतिपय स्थानमा पनि विद्यालय र क्याम्पस बन्द भएका छन् । कश्मीरमा जम्मू, साम्बा, कठुवा, राजौरी र पुंछ क्षेत्रमा शैक्षिक गतिविधि ठप्प भएका हुन् ।

पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीयको मृत्यु
कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ । शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् । भारतले पाकिस्तानमाथि हमला गरेकै बेला पाकिस्तानी तर्फबाट पनि गोलीबारी भएको हो ।

भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको बताएको छ ।
मंगलबार राति करिब साढे एक बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेशन सिन्दूरु अन्तर्गत आक्रमण गरिएको हो ।
पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । आक्रमणमा परी दर्जनौँको ज्यान गएको खबरहरू आइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूले सय जनाभन्दा बढीको मृत्यु भएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

घटना नियालिरहेका छौं : अमेरिका र चीन
– अमेरिकी विदेश मन्त्रालयले दक्षिण एसियाली छिमेकी देशहरूबीचको तनावलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ ।
– भारत र पाकिस्तानबीचको गोलाबारी चलिरहेका बेला चीनले पहिलो पटक मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ । दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन् । हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।

भारतले आतंकवादीका पूर्वाधारमा आक्रमण गरिएको बताए पनि पाकिस्तानले यो दाबीलाई अस्वीकार गरेको छ । हमलाले मुख्य रूपमा आम नागरिकहरूलाई हानि पुर्याएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
पाकिस्तानी सैन्य स्रोतले सीएनएनलाई कोटली, अहमदपुर पूर्व, मुजफ्फराबाद, बाग र मुरिदकेमा पाँच स्थानमा हमला भएको बताएको छ ।

सैन्य शक्ति कसको कति ?
भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेसँगै दुई देशको सैन्य शक्तिबारे चर्चा सुरु भएको छ ।

ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ । सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औँ स्थानमा हुनेछ ।

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झन्डै डेढ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन् । यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ । भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २,२२९ वटा विमान छन् । कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छ वटा ट्याङ्कर फ्लीट विमानहरू छन् ।

भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन् । तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन् । भारतीय नौसेनामा १ लाख ४२ हजार नौसैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन् । त्यसबाहेक भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ ।

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झन्डै १३ लाख ११ हजार सैनिक, १ लाख २४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन् । पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन् । यसमा २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन् ।

पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन् । अन्य क्षमताका हिसाबले पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन् । यसबाहेक पाकिस्तानसँग २ लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे सञ्जाल छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै