जनकपुर । मधेश सरकारका ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेशमा खानेपानी तथा स्वच्छताको अवस्था दयनीय भएको बताएका छन् । युनिसेफ नेपाल र एसएनभी नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालयले आज बर्दिबासमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुलुुकमै सर्वाधिक जनसङख्या रहेको यस प्रदेशमा खानेपानी तथा स्वच्छताको अवस्था अत्यन्तै दयनीय भएको बताए । मन्त्री यादवले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क उद्धृत गर्दै मधेशमा खानेपानीदेखि शौचालयसम्मको अवस्था निकै नाजुक देखिएको जनाए । प्रदेशको यो समस्याले दिगो बिकासको लक्ष्य प्राप्त गर्न बाधकको रुपमा सावित हुने उनको भनाइ थियो ।
प्रदेशमा अहिले पनि ७२९ घरपरिवार नदीनाला, करिब २२ हजार परिवार कुवाइनार र ८४ हजार परिवार छिमेक र सार्वजनिक धारामा पानीका लागि पालो पर्खन बाध्य छन् । यसमध्ये सप्तरीको डाक्नेश्वरी, सिरहाको लहान, गणेशमान चारनाथ नगरपालिका र प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिका समेत गरी ४४३ घरधुरी कुवा, इनार र नदीनालाको असुरक्षित पानी खान बाध्य रहेका जनगणनाको तथ्यांक छ ।
यस्तै देश खुला दिसामुक्त घोषणा भएको आधा दशक बित्ती सक्दा समेत मधेश प्रदेशका १ लाख ३९ हजार २१० घरपरिवार अहिले पनि शौचालय विहीन अवस्थामा छन् ।
मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लामै २२ हजार परिवार खुलामा शौच गर्न बाध्य रहेको मन्त्री यादवले बताउनुभयो ।
मन्त्री यादवले भने, ‘तथ्याङ्कले देखाएको मधेश प्रदेशको यो दारुण परिवेश जति सोचनीय छ यसमा सुधार र परिवर्तनको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण छ । यो चुनौतीको सामना गर्न गोष्ठीमा सहभागी स्थानीय तहका तपाई प्रमुखहरूले प्रभावकारी ‘वास प्लान’ बनाएर योजनाबद्ध ढङ्गमा अघि बढ्न आग्रह गर्दछु ।’
खानेपानी, सरसफाइ र शौचालयप्रति जनतालाई जिम्मेवार बनाउन आवश्यक परेको खण्डमा ‘वास कार्ड’ लागु गर्न पनि मन्त्री यादवले सुझाए ।