
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव डा। फणिन्द्रराज पाठकलाई कारबाहीको माग गरेका छन् ।
सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरे । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ भन्ने प्रश्न गरे । उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा।पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे ।
‘संवाद सचिव डा।फणीन्द्रराज पाठकका नाममा जारी भएको समवेदना सन्देश संविधान विपरीत आएको छ । नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ,’ गैरले संसदमा भने, ‘कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा।पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’ जो कोहीले संविधानको सर्वोच्चताको ख्याल गर्नुपर्ने उनको आग्रह छ । अगाडि भन्छन्, ‘यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’
पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा। फणिन्द्रराज पाठकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद गैरेको आग्रह छ ।