ट्रेन्डिङ

नेपालमा मौसममा परिवर्तन, मेघगर्जन र चट्याङबाट सतर्क रहन आग्रह

­काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्ने क्रम जारी छ।

हाल कोशी, मधेस र बागमती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखिएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

गण्डकी प्रदेशको पहाडी क्षेत्रमा भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार मधेस प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ।

यस्ता मौसमीय गतिविधिले दैनिक जनजीवन, सडक यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

महाशाखाले मौसमसम्बन्धी ताजा जानकारीका लागि आधिकारिक स्रोतहरूमा ध्यान दिन र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै