
जनकपुर । धनुषा प्रहरीले आफूलाई अख्तियार र सिआइबीको कर्मचारी बताउँदै सर्वसाधारणलाई ठग्ने एकजनालाई पक्राउ गरेको छ ।
आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को कर्मचारी भनी चिनाउँदै सर्वसाधारणलाई ठग्ने एक व्यक्ति पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा जिल्ला, शाहिदनगर गाउँपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मण्डल केही महिनायता आफू अख्तियार तथा सिआइबीको अधिकृत कर्मचारी भएको दाबी गर्दै विभिन्न किसिमका धम्की देखाई सर्वसाधारणसँग रकम असुल्दै आएको आरोप छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले विशेषगरी विभिन्न प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै ठग्ने गरेको देखिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान टोलीले शाहिदनगर नगरपालिका वडा नम्बर– ३स्थित इलाकाबाट मण्डललाई पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पक्राउ परेका मण्डलमाथि सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।