
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे ।
यता, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज २१ औं दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । शिक्षकहरूले मंगलबार पनि काठमाडौंको माईतीघर(बानेश्वर सडकखण्डमा नाच्दै–गाउँदै प्रदर्शन गरिरहेका छन् । शिक्षकहरू भने विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन् । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ । शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । ५५ लाख बालबालिकाको भविष्यमाथि हेलचक्रयाइँ गरेको भन्दै शिक्षकहरूको आलोचनासमेत हुन थालेको छ ।