वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सिसिटिभी क्यामेरा सञ्जाल विस्तार गरिने भएको छ ।
त्यसका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरुले सोमबार १७ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगन्ज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई गर्नु भएको आह्वान अनुरुप बैंकहरुले उक्त सहयोग उपलब्ध गराएका हुन् ।
बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ संचालित बैंकहरुलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसिटिभी क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।
महानगरपालिकाको पहल एवं सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने नगरप्रमुख सिंहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा संजाल विस्तार गर्नु आवश्यक रहेको औल्याए ।
क्यामेरा संजाल विस्तारका लागि सहयोग उपलब्ध गराउने बैंकहरु धन्यवादको पात्र रहेको भन्दै यो कार्यमा सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेकोमा उनको जोड थियो ।
सिसिटिभी क्यामेरा संजाल विस्तारका लागि विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको र बाँकी बैंकहरुबाट पनि चाँडै सहयोग उपलब्ध हुने बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले बताए ।
सबैभन्दा बढी नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगन्जलाई हस्तान्तरण गरिएको छ ।