जनकपुर । धनुषा प्रहरीले विभिन्न मुद्दाका फरार ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्लामा फरार रहेका विभिन्न मुद्दाका ६ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी अदालतको आदेश कार्यान्वयन गरेको छ ।जिल्लाको अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर पनि फरार रहेका ती व्यक्तिहरूलाई खोजतलास गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
उनका अनुसा धनुषा जिल्ला अदालतको आदेश अनुसार कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई विशेष सुराकी सूचनाका आधारमा विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै प्रतिवादीहरू कुटपिट मुद्दामा दोषी ठहर भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । तीमध्ये पाँच जनाले एक/एक हजार भएको जरिवाना नतिर्दा पक्राउ गरिएको प्रहरी विज्ञप्तिमा भनिएको छ भने एकजनाले एकजनालाई ३ महिना कैद र ५० हजार जरिवाना सजाय तोकिएकोले पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यस्ता फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । कानुनी शासनको पालना गराउने र अपराधमुक्त समाज निर्माण गर्न प्रहरीको अभियान अझ प्रभावकारी ढंगले अघि बढिरहेको जानकारी दिइएको छ ।