ट्रेन्डिङ

देशका विभिन्न भागमा मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरि स्थानीय वायु र पश्चिमी वायु प्रणालीको प्रभाव सक्रिय भइरहेकाले अधिकांश भूभागमा मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा यसको प्रभाव बढी देखिएको छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा अहिले चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ भने आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

यसैबीच, कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि औंल्याएको छ।

आज राति पनि मौसम बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना कायम रहेको महाशाखाले जनाएको छ।

यसैबीच, भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा कृषि कार्य, दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक यातायात र हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै