काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन निर्माण अभियान र मातहत समितिको अधिवेशन बैशाखसम्म सक्ने तयारी गरेको छ । पार्टीले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ र स्थानीय तहदेखि प्रदेश समितिसम्मको अधिवेशन बैशाख महिनासम्म सक्ने पार्टीको तयारी रहेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
गत जेठमा पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले एक वर्षभित्र मातहत समितिको अधिवेशन सक्ने गरी कार्यतालिका बनाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा अभियानमा खटाइएका केन्द्रीय अभियन्ताहरुको कामको प्रतिवेदन र त्यसको समीक्षापश्चात निष्कर्ष निकाल्दा अभियानलाई बैशाख मसान्तसम्म जारी राख्ने निर्णय भएको थियो ।
साथै अभियानका दौरानमा पार्टी प्रवेश कार्यक्रम, सङ्गठनात्मक गतिविधि बढेको र सदस्यता नवीकरण कार्य भइरहेको र सबै प्रदेशमा विभिन्न तहगत समितिको अधिवेशन भइरहेको बस्नेतले बताए ।