ट्रेन्डिङ

सातै प्रदेशका उपसभामुखहरुलाई मुख्यमन्त्री सिंहले गरे कार्यकक्षमा स्वागत

जनकपुरमा उपसभामुखहरुको अनुभव साटासाट

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सात वटै प्रदेशका उपसभामुखहरुलाई आफ्नो कार्यकक्षमा स्वागत गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री सिंहले उनीहरुलाई खादा लगाएर स्वागत गरेका हुन् ।

यसअघि मधेश प्रदेशको राजधानी जनकपुरधाममा सात वटै प्रदेशका उपसभामुखहरुले अनुभव आदानप्रदान गरेका छन् । उपसभामुखहरुको भूमिकालाई थप प्रभावकारी र फराकिलो तुल्याउने उद्देश्यले बिहीबार जनकपुरमा आयोजना गरिएको सम्मेलनमा उनीहरुले आ–आफ्नो अनुभव साटासाट गरेका हुन् ।

संसदीय अभ्यासमा उपसभामुखहरुको भूमिका तथा नीतिगत सुधारका सवालहरुका विषयमा सातवटै प्रदेशका उपसभामुखहरुले आ–आफ्नो धारणा र अनुभव सुनाएका थिए । राष्ट्रिय सभाका माननीय उपाध्यक्ष विमला घिमिरेले उद्घाटन गरेको सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरसहित सातै प्रदेशका उपसभामुख तथा संविधानविद् काशीराज दहालले आफ्ना धारणा राखेका थिए ।

प्रदेश सभामा आफ्नो भूमिकालाई थप सशक्त र मजबुत बनाउन, विभिन्न राजनीति दलसँगको समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा उपसभामुखहरुले जोड दिएका थिए । सात बुँदे जनकपुर घोषणापत्र २०८२ समेत जारी गर्दै सम्मेलन सम्पन्न भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै