ट्रेन्डिङ

सरकार सहकारी पीडितको घाउमा नुन छर्किरहेको छ : महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी, लघुवित्त तथा बैंकिङ ठगीका पीडितहरुको माग प्रति एक्यबद्धता जनाएका छन् । बिहीबार वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा काठमाडौंको शान्ति बाटिकामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सहकारी पीडितको समस्या समाधानमा सरकारले देखाइरहेको रवैयाप्रति कडा असन्तोष व्यक्त गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले सडकमा आन्दोलित सहकारी, लघुवित्त तथा बैंकबाट पीडितहरुको घाउमा सरकारले मल्हम लगाउनुको साटो नुन छर्कने काम गरिरहेको आरोप लगाए । ‘अब पापको घडा भरिसक्यो, जुनसुकै बेला फुट्न सक्छ ।’ नेता महतोले भने, ‘सडकमा आन्दोलित जनता गरिब छन्, पीडित छन्, शोषित छन्, तर सरकार तिनका घाउमा मल्हम लगाउने होइन, नून छर्कने काम गरिरहेको छ ।’

उनले देशका विभिन्न भागबाट ठगिएका सहकारी, लघुवित्त, बैंक पीडितहरू वर्षौंदेखि अन्यायको मारमा परिरहेको उल्लेख गरे । नेता महतोले हालसम्म भएका सम्झौता तथा वार्ताहरू कार्यान्वयन नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘सरकार आफैं अभिभावक बन्नुको सट्टा शोषकको रूपमा देखा परेको छ । यही प्रवृत्तिका कारण जनताको राज्यप्रतिको विश्वास हराउँदै गएको छ ।’

उनले सहकारी तथा लघुवित्त पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब सरकारको खोक्रो आश्वासनले नरोकिने प्रष्ट पारे । महतोले आर्थिक न्याय, समानता र वित्तिय शोषणको अन्त्यका लागि सम्पूर्ण नागरिक समाज, अभियानी समूह, पीडित वर्ग र सरोकारवालाहरूलाई आन्दोलनमा ऐक्यबद्ध हुन आह्वान गरे ।

बिगत दुई वर्षदेखि देशका विभिन्न स्थानमा सहकारी र वित्तीय संस्थाबाट ठगिएका नागरिकहरू निरन्तर संघर्षरत छन् । यद्यपि, पीडितहरूको माग सम्बोधन गर्ने सरकारी इच्छाशक्ति अझै कमजोर देखिएको नेता महतोको टिप्पणी थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै