काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । आज बसेको राप्रपाको कार्यसम्पादन समिति बैठकले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
राजसंस्था पुनःस्थापना र आफ्ना नेताहरुको रिहाइको मागसहित राप्रपाले यो प्रदर्शन गर्न लागेको अध्यक्ष लिङदेनले बताए । ‘वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने छ ।’ लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा जान तयार छौं । राजेन्द्र लिङदेन पनि थुनिन तयार छ ।’
यद्धपी आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने उनले बताए । राप्रपाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।