ट्रेन्डिङ

वीरगन्ज घटनालाई लिएर इस्लामी संघले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । वीरगन्जमा भएको साम्प्रदाषिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इस्लामी संघ नेपालले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मुस्लिम समुदायको धनमालको क्षति भइरहँदा प्रहरी प्रशासन मुकदर्शक बन्नु चिन्ताको विषय भएको संघले जनाएको छ । बिहीबार गृहमन्त्रालयमा संघका अध्यक्ष नजरुल हसन फलाहीको नेतृत्वमा पुगेको मुस्लिम अगुवाहरुले सो विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको हो ।

‘मुस्लिम समुदाय जातिय र धार्मिक हिसावले अल्पसंख्यक समुदाय हो । नेपालमा मुस्लिम समुदायको गौरवमय इतिहास रहेको छ । देशप्रतिको हामी प्रेम र श्रद्धा सयौं वर्षको सद्भावपूर्ण ऐतिहासिक सहकार्य र समाजमा हाम्रो अन्तरघुलनले प्रमाणित गर्दछ । तर, केही असामाजिक तत्वहरूबाट हाम्रो समुदायको सद्भाव, राष्ट्र प्रेम र शान्तिकामी छविलाई धमिल्याउने प्रयास पटक पटक हुँदै आएकोमा संघले चिन्ता व्यक्त गरेको छ ।

विगत केही वर्षदेखि सामान्य विवादलाई पनि सामुदायिक र धार्मिक विवाद बनाइनु र यसले समाजमा अन्तरघुलित भई बसेको मुस्लिम समुदायलाई ‘टार्गेट’ गर्नु घोर आपत्तिजनक रहेको संघको ठहर छ । विगतमा पनि वीरगन्ज, सर्लाही, नेपालगन्ज र पुनः वीरगन्जमा यस्ता किसिमका सम्प्रदायिक विवादले समाजमा मिलेर बसेका फरक फरक समुदायबीच फाटो ल्याइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

तोडफोड, कुटपीट, अश्लील गालीगलौज, डर धम्की दिने, हतियार प्रदर्शन जस्ता क्रियाकलाप प्रहरी प्रशासनको सामुन्ने भइरहेको सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । यसले वीरजन्जमात्र नभई तराई÷मधेशमा बसोबास गर्ने मुस्लिम समुदाय त्रसित भएको ज्ञापनपत्रमा जनाइएको छ ।

यस्ता घटना अचानक नभई सुन्योजित र योजनाबद्ध रहेको हुँदा प्रहरी प्रशासनले बेलैमा यस प्रकारका कार्यक्रम, ¥याली, सभा, जुलुसलाई व्यवस्थापन गर्न र देशका अल्पसंख्यक मुस्लिम समुदायको जनधनको रक्षा गर्न आग्रह गरेको छ ।
यस्ता सङ्गगठित आपराधिक गतिविधिमा संलग्न व्यक्ति जुनमुकै समुदायको भएता पनि त्यस्ता व्यक्तिलाई तुरुन्त कानूनी दायरामा ल्याई सख्त कारवाही गर्न मुस्लिम अगुवाहरुले माग गरेका छन् ।

गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउन जाने टोलीमा संघका अध्यक्ष फलाही, मुस्लिम आयोगका कार्यकारी अध्यक्ष मोहम्दीन अलि, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँ, पूर्व महिला तथा बालबालिका राज्यमन्त्री मोहम्मद जाकिर हुसेन, संविधान सभा सदस्य जुनैद अन्सारी, मुस्लिम महिला अधिकारकर्मी सिमा खानलगायतका रहेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै