काठमाण्डौँ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले शान्ति र सद्भाव कायम राख्न वीरगन्जबासीसँग अपिल गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो अपील गरेका हुन् । पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबिच द्वन्द्व भइरहेकाले शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरूमा अनुरोध गरेका हुन् ।
ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनको भनाइ छ ।
यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलीजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रही आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारी लाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको विगत रहेको जनाए ।
वीरगञ्ज सबैको साझा फूलबारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताए ।

हाल केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पुर्याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुन बमोजिम काम गरिरहनु पर्ने एवं आफ्नो प्यारो सहरमा तनाव टुसाएको समयदेखि नै आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।