ट्रेन्डिङ

मधेशमा दलित चेली असुरक्षित, जबरजस्ती करणीपछि शंकास्पद मृत्युको घटनाहरु बढ्यो

सिरहा । पछिल्लो समय मधेश प्रदेशमा दलित महिलाहरु असुरक्षित हुन थालेका छन् ।

गत माघ २७ मा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ नवराजपुरकी १७ बर्षिया रिंकुकुमारी सदाको स्थानीय तीन युवकबाट सामूहिक बलात्कार पछि शंकास्पद मृत्युको घटना र सिरहाकै २५ बर्षिया आनन्दी देवि सदालाई दुई युवाहरूले जवर्जस्ती करणीको घटनापछि माईतीघरमा झुन्डिएर मृत्यु भएको घटनाहरु सेलाउन नपाउदै सप्तरीमा सोही प्रवृतिको घटना पुनः सार्वजनिक भएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ घर भएकी १९ वर्षीया दलित युवती पूजा कुमारी रामको शंकास्पद अवस्थामा शव बरामद भएको छ ।

पूजाको अपहरणपछि बलात्कार गरि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । बैशाख १ गते रातभर हराएकी पूजाको शव भोलिपल्ट बिहान घर नजिकैको पोखरी डिलमा घाँसपातले छोपिएको अवस्थामा फेला परेको थियो ।

पूजाको शव घरदेखि करिब ५०० मिटर टाढा रहेको कुसुमलाल साहको पोखरीमा भेटिएको थियो । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

परिवारका अनुसार नयाँ वर्षको राति पूजाकी आमा अष्टजाम कार्यक्रममा गएकी थिइन् भने पूजा आफ्ना १२ वर्षीय भाइसँग घरमै बसेकी थिइन् ।

घरमा अभिभावक नभएको मौकामा पूजा अपहरणमा परेकी र हत्याको शिकार भएकी उनको परिवारको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार शवको अवस्था हेर्दा जबरजस्ती करणी र यौन हिंसा भएको देखिन्छ ।

सप्तरीका प्रहरी प्रवक्ता बस्नेतले पोष्टमार्टम रिपोर्ट नआएसम्म ठोस रूपमा केही भन्न सकिने बताए । मृतक पूजाको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

मधेसमा पछिल्ला समय दलित समुदायका किशोरी र महिलामाथि हुने बलात्कार, हत्या र हिंसाका घटनाहरू वृद्धि भइरहेका छन् । तर, यस्ता घटनामा पीडितलाई न्याय दिलाउने प्रक्रिया सुस्त र अन्यायपूर्ण भएको भन्दै मानव अधिकारकर्मीहरूले आलोचना गर्दै आएका छन् ।

पूजाको परिवारले सत्यतथ्य अनुसन्धान गरि दोषीलाई कडा कारवाहीको माग समेत गरेका छन् ।

सिरहाकी रिंकु सदा पनि हराएको भोलिपल्ट बिहान रुँदै घर पुगेर आफ्ना आमालाई घटनाको बारेमा सुनाएकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास भएको थियो ।

पञ्चहरुले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीकाबीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन् ।

त्यस्तै चार महिनाअघि बलात्कार प्रयासको सिकार भएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दी देवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

पुस ९ गते बरियारपट्टि गाउँपालिका वडा नम्बर १ कचनारी स्थित रहेको दिदीको घरबगइरहेको बेला आनन्दी देवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेको आरोप छ ।

उनले प्रहरीमा किटानी जाहेरी समेत दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । जवर्जस्ती करणी उद्योग शीर्षकमा जाहेरी दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै