काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज)विरुद्ध यौन दुव्र्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । एक हप्ता अघि पक्राउ पुर्जी जारी भएको सुइको पाएका अहिराज रातारात छिमेकी राष्ट्र भारत पुगेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
मधेशमुलकी एक महिलालाई ‘इन्टरनेशनल एअर होस्टेज’ बनाई दिन्छु भन्दै १७ बर्षको उमेर देखिनै यौन दुव्र्यवहार गरेको अहिराजमाथि आरोप छ । जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।
हाल काठमाडौंमा होस्टेल चलाईरहेकी पीडितले महिला आयोगमा निबेदन दिएको भएपनि कारवाही प्रक्रिया अगाडि नबढेपछि पीडित महिला प्रहरीकोमा पुगेकी हुन् । जाहेरवाली परिवर्तित नाम २६ परिसर ३२ (०८१–०८२) ले गत माघ ६ गते जिल्ला प्रहरी परिषर भद्रकाली काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
फौजदारी कसुरमा चैत २५ मा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । पक्राउ पुर्जी जारी भएपछि आइजीपीको सचिवालयमा यसबारे छलफल भएको थियो । तर, छलफलको सुइको पाएका अहिराज भने अहिले भागेर भारत पुगेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली भारततर्फ जान लागेको बताइएको छ । अहिराज २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।