वीरगन्ज । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको नटआउट इनिङ खेले ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा १ सय १५ रनमा समेटिएको थियो । हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिन सफल भए । त्यसैगरी बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट हात पारे । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रनको योगदान गरे ।
नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।