ट्रेन्डिङ

मधेशका निलम्बित प्रदेश सभा सदस्य शर्माको पेशी आजका लागि तोकियो

जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या सम्बन्धि घटनामा मधेश प्रदेशका निलम्बित प्रदेश सभा सदस्य अभिराम शर्माको पेशी आजको लागि तोकिएको छ । उच्च अदालत जनकपुरमा परेको रिटको १८ औं पेशी बुधबार न्यायाधीश द्वय नरिश्वर भण्डारी र जगदीश घिमिरेको इजलाशमा तोकिएको हो । यसअघि पटक पटक उनको मुद्दामा पेशी तोकएपनि स्थगित हुँदै आएको छ ।

जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशका निलम्बित प्रदेश सभा सदस्य शर्मासहित चार जनाको मुद्दामा पटक पटक पेशी तोकिएपनि हेर्न नभ्याइनेमा र स्थगित हुँदै आएको छ । यसअघि १७ पटक पेशी चढेकोमा ९ पटक स्थगित, ४ हेर्न नभ्याइने र ४ पटक विभिन्न आदेश दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शर्मा, जलेश्वर नगरपालिकाकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको मुद्दाको पेशी पटक पटक हेर्न नभ्याइनेमा पर्ने गरेको छ । गत वैशाख ९ गते शर्माको हकमा उनका बुवा महेन्द्र शर्मा, मिश्रको हकमा उनका श्रीमती संगीता कुमारी शर्माले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए। यस्तै बैशाख १० गते पाण्डेको हकमा उनका छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाइ अरविन्द कुमार रायले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए ।

दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । सो प्रकरणमा २०७२ फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो ।

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो ।

न्यायाधीश भट्टराईको इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो । मधेस प्रदेश सभाले २०८१ वैशाख १८ गते सांसद शर्मालाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै