काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि मंगलबारदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार मंगलबार बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो ।
अनलाइन सेवा सुरु भएपछि विद्यार्थीहरु परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर फारम भर्ने र बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको परीक्षा नियन्त्रक जोशीले बताए ।
उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।
अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।