ट्रेन्डिङ

जुडशीतलको शुभकामना दिँदै मुख्यमन्त्री सिंहले भने, ‘यो पर्यावरण संरक्षण र सामाजिक सहकार्यको सन्देश बोकेको पर्व हो’

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जुडशीतल पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासी, देशवासी तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै यो पर्वले सामाजिक सद्भाव, स्वास्थ्य र पर्यावरणीय चेतनाको सन्देश दिने बताए ।

मुख्यमन्त्री सिंहद्वारा जारी शुभकामना सन्देशमा जुडशीतल पर्वलाई धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण पर्वको रूपमा उल्लेख गरिएको छ।

उनले यस पर्वले प्रकृति र मानवीय जीवनबीचको सम्बन्धलाई सन्तुलित गर्न प्रेरणा दिने जनाउँदै, “जुडशीतलले मानव जीवनलाई शीतलता, दीर्घायु र समृद्धिको कामना गर्ने पर्व हो,” भनेका छन ।

जलवायु परिवर्तन र पर्यावरण संरक्षणमा योगदान दिने पर्व

मुख्यमन्त्री सिंहका अनुसार जुडशीतल पर्व प्राकृतिक परिवर्तन, वातावरण संरक्षण र जलवायु सन्तुलनजस्ता विषयमा जनचेतना फैलाउने अवसर पनि हो।

वातावरणीय सन्तुलन र जलचक्रलाई ध्यानमा राख्दै जुडशीतलका दिन रूखबिरुवामा पानी हाल्ने परम्पराले वर्षभरिका लागि सकारात्मक प्रभाव पार्ने विश्वास रहेको छ ।

उनले जलवायु परिवर्तन, जैविक विविधताको सन्तुलन, प्रदूषण नियन्त्रण र वातावरणीय समस्या समाधानका लागि जुडशीतल पर्वको वैज्ञानिक महत्वलाई समेत स्मरण गराउँदै परम्परा र आधुनिक ज्ञानबीचको समन्वय आवश्यक रहेको बताए ।

सामाजिक समरसता र सहकार्यको सन्देश

शुभकामना सन्देशमा सामाजिक सहकार्य, आपसी सद्भाव, मानवीय करुणा र प्रकृतिप्रति श्रद्धाको विकास गर्न जुडशीतल पर्व महत्त्वपूर्ण माध्यम बन्ने उल्लेख गरिएको छ।

“हाम्रो परम्परा, संस्कृति र धर्मले प्रकृतिप्रतिको प्रेम र संरक्षणको भावना विकास गराउँदै आएको छ,” मुख्यमन्त्री सिंहले भनेका छन ।

सबैलाई यो पर्वको अवसरमा जल, जंगल, जमीनजस्ता प्राकृतिक स्रोतको संरक्षण गर्दै सहकार्य र समझदारीको भावना अभिवृद्धि गर्न उनको आग्रह छ।

वैज्ञानिक र व्यवहारिक सन्देश

मुख्यमन्त्री सिंहले जुडशीतल पर्वमा मनाइने परम्परागत अभ्यासहरूको वैज्ञानिक पक्षप्रति समेत प्रकाश पार्दै भने, “गर्मी मौसममा सुपाच्य खाना, स्वच्छता, जल सेवन र दहीको सेवन स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुने भएकाले यस्ता परिकारको प्रयोग केवल परम्परा नभई वैज्ञानिक कारणले पनि सान्दर्भिक छ।”

सम्पूर्ण मधेशवासी तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जुडशीतल पर्वले विवेक, शान्ति, स्वास्थ्य र समृद्धिको सन्देश दिइरहोस् भन्ने मुख्यमन्त्री सिंहको कामना छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै