काठमाण्डौँ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले ८ करोड मूल्य बराबरको किताब बिक्री गरेको छ ।
यस वर्षको शैक्षिक सत्र सुरु हुनु अघि नै केन्द्रले उक्त मूल् बराबरका करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको जनाएको छ ।
शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडी नै पाठ्यपुस्तक आएकाले बिक्री वितरण सुरु गरिएको जनाइन्छ ।
यो वर्षका लागि केन्द्रले २५ करोड रुपैयाँ बराबरको २३ लाख ७० हजार थान पुस्तक बिक्री वितरण गरिने लक्ष्य लिएको थियो ।
हाल नौ लाख १३ हजार नौ सय ७६ थान पुस्तक गोदाममा सुरक्षित रहेको सो कार्यालयले जनाएको छ ।
विद्यालयलाई तोकिएका विभिन्न ९६ वटा वितरकमार्फत पाठ्यपुस्तक बिक्री गरिन्छ । कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिराहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ ।
विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गर्दा बालबालिकाको अध्ययन अध्यापनमा समस्या रहेको थियो । यसअघि सो कार्यालयले गत वर्ष २३ करोड ३० लाख रुपैयाँ बराबरको किताब बिक्री गरेको थियो ।
कार्यालयले त्यसअघि शैक्षिक सत्र २०८० मा २६ करोड बराबरको किताब बिक्री गरेको थियो ।