ट्रेन्डिङ

एमाले सप्तरीको अध्यक्षमा पुनः ताराकान्त चौधरी निर्वाचित, १२२ सदस्यीय जिल्ला कमिटी चयन

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १०औं जिल्ला अधिवेशनबाट ताराकान्त चौधरी पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

चैत ३० र ३१ गते दुई दिनसम्म चलेको अधिवेशनको दोस्रो दिन, आइतबार सम्पन्न बन्द सत्रले चौधरीको नेतृत्वमा नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।

पार्टीका पोलिट्ब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले ५ सदस्यीय लेखा समिति सहित १२२ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

अधिवेशनले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ नेतृत्व चयन गरेको जनाइएको छ।

पुनः अध्यक्षमा चयन भएका चौधरी सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए। उनी लामो समयदेखि पार्टी संगठनमा क्रियाशील छन् र जिल्लामा लोकप्रिय नेता मानिन्छन्।

अन्य पदाधिकारीमा यस्ता छन् चयन

पार्टी स्रोतका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्षमा जय प्रकाश ठाकुर चयन भएका छन्।

त्यस्तै, सचिवमा देवनाथ यादवले पुनः निरन्तरता पाएका छन्। उपसचिवमा कुसुम आचार्य र दुर्गानन्द ठाकुर चयन भएका छन्।

प्याकुरेलले अधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक, कार्यकर्ताहरूलाई धन्यवाद दिँदै अब संगठनलाई थप सशक्त बनाउने कार्यमा सबै एकजुट भएर लाग्नुपर्ने बताए।

संगठन सुदृढीकरणमा जोड

अधिवेशनका क्रममा नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, नीति तथा कार्यक्रम कार्यान्वयन, जनसम्पर्क विस्तार र कार्यकर्ताको प्रशिक्षणलगायतका विषयमा विशेष छलफल भएको थियो।

अधिवेशनमा जिल्लाभरिबाट प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पार्टीले नयाँ नेतृत्वसँगै अब जिल्लामा थप सक्रिय संगठन निर्माण गरी स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै