वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको वीरगन्ज महानगर कमिटिको बन्दसत्र सकिएको छ ।
शुक्रबार उद्घाटसत्र सकिए भएतापनि बन्दसत्र भने आज सकिएको एमाले पर्साले जनाएको छ ।
बन्दसत्र सकिएसंगै वीरगन्ज महानगरसमितिको चुनावी प्रक्रिया सुरु भएको जनाइएको छ । महानगर समितिको पदाधिकारी चयनमा सहमति नहुने भएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको एमाले जिल्ला सचिव महेश दासले बताए ।
उनका अनुसार महानगर कमिटिको चयनमा सहमति नभएपछि लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनको कार्यक्रम अगाडि बढाइएको छ । त्यसका लागि अहिले मतदाता नामावलीसमेत प्रकाशन भइसकेको छ । अबन नोमिनेशनको प्रक्रियामा गइसकेको उनले जनाए ।
एमालेको वीरगन्ज महानगरको कमिटिका लागि सुन्दर कुर्मी र नवराज शर्माबिच भीडन्त हुने देखिएको छ । महानगरको नेतृत्व लिनेमा दुबैजनाको दाबी परेपछि चुनावी प्रक्रिया सुरु गरिएको एमालेका नेताहरु बताउँछन् ।
सहमति नहुँदा अन्तिम समयमा छिनोफानोका लागि निर्वाचनमा जाने होमिएको एमाले स्रोतको भनाइ छ ।
एमालेमा सुन्दर राउत कुर्मीको पक्षमा पार्टी अध्यक्ष विश्म्भर शर्मा, सांसद प्रभु हजारासहितको सर्मथन छ भने नवराज शर्मालाई पूर्व सांसद बिचारी यादव, अरबिन्द सिंहसहितको समर्थन रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।
वीरगन्ज महानगरमा एमालेका करिब ३१० जना प्रतिनिधिहरु रहेको जनाइएको छ ।