ट्रेन्डिङ

दुर्गा प्रसाईंसहित दुइ जनामाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १२ दिनको म्याद

सप्तरी । दुर्गा प्रसाईं र उनका अङ्गरक्षक दिपक खड्का माथि राज्यविरुद्ध लगायतको कसुरमा अनुसन्धान गर्न अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा भारतमा पक्राउ परेका दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

शुक्रबार बसेको न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएकोले अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध मिलाउन समेत अदालतले आदेश दिएको छ।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी आज बिहान उनलाई झापाको भद्रपुर हुदै जहाजबाट काठमाडौं ल्याइएको हो ।

व्यवसायी प्रसाईंकै अगुवाइमा गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन भएको थियो भने सुवेदीले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मी सुरेश रजक सहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै