वीरगन्ज । भूमि समस्या समाधान आयोग पर्साले जिल्लामा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु गरेको छ। वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित बैठकमा आयोगका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा यो अभियान औपचारिक रूपमा सुरु गरिएको हो।
अध्यक्ष अहमदका अनुसार, अभियानको पहिलो चरणमा पर्सागढी नगरपालिकामा ४७१ जना भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने लक्ष्य छ।
त्यस्तै, सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा पनि यस्तै कार्ययोजना लागू गरिने जानकारी दिइएको छ।
अभियान आगामी बैशाखदेखि असारसम्म तीव्र रूपमा सञ्चालन हुनेछ।
“हामी तीन महिनाभित्र लालपुर्जा वितरणको लक्ष्यसहित यो अभियान अगाडि बढाएका छौं,” अध्यक्ष अहमदले बताए।
उनले स्थानीय पालिकासँग सहकार्य गर्दै आयोगबाट खटिएका कर्मचारीलाई आवश्यक सहयोग गर्न पनि आग्रह गरे।
कार्यक्रममा आयोगकी केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक आरती भण्डारीले यो आयोगलाई अन्तिम भूमि आयोगका रूपमा जनाउँदै देशभरिका सुकुम्बासीका समस्याको दीर्घकालीन समाधान गरिने बताइन्।
“कानुनी जटिलता समाधान गरी सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” उनले भनिन्।
बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि अभियानप्रति समर्थन जनाउँदै सरकार गरिब, दलित र सुकुम्बासीको पक्षमा दृढ छ भन्ने सन्देश दिन आग्रह गरे।
बैठकमा आयोगका अन्य पदाधिकारी, जिल्लास्तरीय सरकारी निकायका प्रमुख, पालिका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रममा आयोगका सदस्य सचिव राकेश कुमार झाले सहजीकरण गरेका थिए।