वीरगन्ज । पर्सामा जग्गाको विषयमा विवादमा भएको दाजुभाइको झगडामा बन्दुक निकालेर चलाउन खोज्ने एकजना ज्येष्ठ नागरिक पक्राउ परेका छन् ।
जग्गाको विषयमा दाजुभाइबिच झगडा हुँदा बन्दुक निकालेर चलाउन खोज्ने दाइलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार आज गाउँमा जग्गाको विषयमा विवाद भइरहेको थियो, त्यही बेला दाजु विरेन्द्रले आफूसंग भएको कटुवा पेस्तोलले निकालेर चलाउन खोजे ।
बन्दुक प्रहार गर्न खोज्न लाग्दा घटनास्थलमा पुगेको प्रहरीले लगत्तै उनलाइ पक्राउ गरेको प्रहरी प्रवक्ता लम्सालले जनाए ।
एकथान कटुवा पेस्तोल र तीन राउण्ड गोली उनको साथबाट बरामद भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको महुवनबाट प्रहरी चौकीबाट खटिएको टोलीले सखुवा प्रसौनीबाट उनलाइ पक्राउ गरेको हो । यसैगरी उनको साथबाट प्रहरीले ना २३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।
बन्दुकसहित पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।
हातहतियार तथा खरखजाना मुद्दामा उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरी बताउँछ ।