
बीरगंज । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री शेर बहादुर देउवाले देश संघीयतामा गएकै कारण शिक्षा र स्वास्थ्य सेवाको गुणात्मक बिकास भएको बताएका छन् ।
पर्साको पटेर्वासुगौलीको फरदवामा निर्माण भएको १० शैय्याको आधारभूत अस्पतालको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतामा गएपछि देश विकासमा फड्को मार्न थालेका बताएका हुन।
उनका अनुसार मुलुकमा संघीयता आएपछि स्वास्थ्य, शिक्षा जस्ता विषयमा ठूलो फड्को मारिएको छ । उनले भने, ‘मुलुक संघीयताको ढाँचामा छ, जसका कारण सबै नेपालीहरु शिक्षा, स्वास्थ्य जस्ता सेवाहरु सरल ढंगले पाइरहेका छन् ।’ ‘त्यसकारण तपाइहरुले यो ढाँचाको फाइदा लिनुहोला, अस्पतालमा सुलभ सेवा लिनु होला,’ उनले भने ।
पूर्वप्रधानमन्त्री देउवाले १० शैयाको अस्पतालको रिबन काटेर समुदघाटन गरेका हुन् । उद्घाटन गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
चार वर्षपहिले तत्कालीन प्रधानमंत्री के.पी.ओलीले शिलान्यास गरेको ३०९ अस्पतालमध्येको पर्सामा पहिलो आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा पटेर्वा सुगौली गाँउपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।
२०७७ मंसिर १५ मा पर्सा जिल्लामा भने पटेर्वासुगौली, धोबिनी, जिराभवानी र ठोरी गाँउपालिकामा गरि चार वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा जिल्लामा एकमात्र पटेर्वा सुगौलीको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए ।
पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ सुगौली फरहदवा ८ करोड १० लाख रुपैयाँको लागतमा १० शैयाको आधारभूत अस्पताल निर्माण गरिएको हो । जसमा पालिकाले २ करोड रुपैयाँको विभिन्न उपकरणहरुको व्यवस्थापन गरेको पालिका उपाध्यक्ष ममता महतो थारुले जानकारी दिइन्।
उनका अनुसार मंगलबारदेखि सञ्चालनमा आएको आधारभूत अस्पतालमा डिजिटल एक्सरे, अत्याधुनिक प्रयोगशाला(ल्यब), इसिजी, अल्ट्रासाउन्ड(युसजी) र आफ्नै फार्मेसीको सेवा उपलब्ध छ। यस्तै ओपिडी सेवा र प्रसुती सेवा पनि उपलब्ध छ ।