काठमाण्डौँ । इन्डियन प्रिमियर लिग ( आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो ।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन बनाए । ग्लेन म्याक्सवेलले ३० रन बनाए भने प्रभसिमरन सिंहले १७ रन बनाए ।
४३ रनमा ४ विकेट गुमाएको पञ्जाबका लागि नेहाल र म्याक्सवेल मिलेर ८८ रनको साझेदारी गर्दै पञ्जाबलाई खेलमा फर्काएका थिए तर १५ औं ओभरको अन्तिम बल र १६औं ओभरको पहिलो बलमा लगातार यी दुईको विकेट गुमेपछि पञ्जाब फेरि खेलमा पछाडि परेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
योसँगै ४ खेलमा ४ अंक जोडेको राजस्थान अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ भने ३ खेलमा पहिलो हार बेहोरेको पञ्जाब ४ अंकसहित चौथो स्थानमा खस्किएको छ ।