वीरगन्ज । वीरगन्जमा आजदेखि दुइ दिने मधेस माटी मन्थन सुरु भएको छ । मधेसको माटी मन्थन नामक महोत्सव सुरु गरिएपनि कार्यक्रममा भने खासै सहभागीता नरहेको देखिएको छ ।
क्याम्पसका केही विद्यार्थी र आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मात्रै यस्तो अर्थपूर्ण कार्यक्रम चलिरहेको छ ।
कार्यक्रम धेरै महत्वपूर्ण भएतापनि मान्छे नै अनुपस्थित भएपछि कार्यक्रमबारे आलोचना मात्रै सुरु गरिएको छैन, नामका लागि बिना तयारी कार्यक्रम भइरहेको आक्षेपसमेत लागिरहेको छ ।
कुरा गरौं पहिलो दिनको कार्यक्रमबारे ।
परिसरमा आज पहिलो दिनको कार्यक्रमका लागि धेरै कुर्सीहरु राखिएका थिए । तर अधिकांश कुर्सीहरु श्रोता बिना नै थियो । अर्थात् खाली परेको थियो ।
धेरै मान्छे आउन सक्ने आंकलन गर्दै आयोजक संस्थाले त्यही अनुपातमा कुर्सी राखेपनि पहिलो दिनको कार्यक्रममा भने अपेक्षित श्रोता नआइदिएको कार्यक्रम स्थलमा राखिएको खाली कुर्सीले नै पुष्टि गरिररहेको छ ।
काठमाडौंबाट कार्यक्रममा सहभागी हुन आइपुगेका एकजना पत्रकारसंग किन मान्छे आएन ? गरिएको कुराकानीमा उनले बढो रमाइलो व्यङ्ग्य गरे ।
कुराकानीमा ती पत्रकारले भने, ‘यो मधेस हो, यहाँ यस्ता कार्यक्रममा मान्छे आउँदैनन्, तर भोजपुरी गायक खेसारी लाल यादव अथवा कुनै अर्को नृत्य गर्ने व्यक्तिको कार्यक्रम भइदियो भने मान्छेको भीडले भरिभराव हुन्छ । अरु केही पनि होइन ।’
ती पत्रकार मात्रै होइन कार्यक्रम चलिरहँदा आयोजक समूहकै एकजना महिलाले कार्यक्रममा साहित्यसंग सम्बन्धित भएकोले मान्छे नआएको आशय व्यक्त गरेकी थिइन् । तथापि आयोजक संस्थाका रितु राजले भने मान्छे आएको दाबी गरे ।

उनले भने, ‘उद्घाटनशत्रमा धेरै मान्छे थिए, अहिले पनि छन तर कोही कता, कोही कता यहीभित्र घुमिरहेका छन् ।’
यद्यपी, अर्थपूर्ण महोत्सव भने जारी रहेको छ, वक्ताहरुले आफ्ना अनुभवसंगै भएको जानकारी आदान–प्रदान भने गरिरहेका छन् ।
के हो कार्यक्रम ?
उत्कर्ष नेपालको आयोजनामा शुक्रबारदेखि वीरगन्जस्थित मधेस विश्वविद्यालयको परिसरमा मधेस साहित्य महोत्सवको सुरुवात गरिएको छ । भाषा, साहित्य र सांस्कृतिको ऐतिहासिक उत्सवसंगै मधेसको आर्थिक, सामाजिकसंगै राजनीतिक बौद्धिक विमर्शका लागि मधेस माटी मन्थन महोत्सव सुरु गरिएको आयोजक संस्थाको दाबी छ ।
दुइदिनसम्म चल्ने ‘मधेस साहित्य महोत्सव’ नामक महोत्सवमा विभिन्न भाषा भाषीका साहित्यकार, कवि, सर्जक, लेखक, कलाकार,चित्रकार, विश्लेषकहरुको जमघट छ ।
‘माटी,मन र मस्तिष्क’ विषयमा राजनीतिक विश्लेषक सिके लालले आफ्नो प्रस्तुती दिए भने ‘माटोको सुगन्ध : जीवनको रंग’ विषयक प्यानल छलफलमा कृषि विज्ञ कृष्ण प्रसाद पौडेल,कृषि अगुवा लक्ष्मण थारु र सुदर्शन चौधरीले आ–आफनो अनुभव सुनाएका थिए ।
यसैगरी शुक्रबारको खासगरी नेपाल–अङ्ग्रेबीचको युद्धमा मधेसको भूमीकाका बारेमा चर्चा गरिएको थियो । पत्रकार मोहन मैनाली, विश्लेषक सन्जय साह मित्र र राजेश चौधरीले नेपाल–अङ्ग्रेजबीचको युद्धमा मधेस र मधेसीले खेलेको भूमीकाको बारेमा आ–आफ्नो आँफुहरुले प्राप्त गरेका ऐतिहासिक दस्ताबेज र भएको जानकारीबारे धारणा प्रस्तुत गरेका थिए ।
आजदेखि सुरु भएको महोत्सवमा तराई–मधेसका २२ जिल्लाका साथै देशभरका ख्याति प्राप्त साहित्यकार, सर्जक र लेखकहरुको जमघट रहेको उत्कर्ष नेपालले जनाएको छ । मधेसको सामाजिक,सांस्कृतिक र साहित्यिलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगन्जमा पहिलो पटक ‘मधेस साहित्य महोत्सव’ आयोजना गरिएको दाबी गरिएको छ ।
करिब एक दर्जन भन्दा बढीसंस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गरिएको छ ।