बारा – पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार शिव पार्वती ट्रेडर्सकी सञ्चालक जनकदुलारी देवी, भारतीय १६ चक्के लरी ट्रकका चालक उमेश यादव, र ट्रकका धनी भारतीय नागरिक नरेश यादवविरुद्ध मुद्दा दायर गरिएको हो।
भन्सार जाँचपास नगराई राजस्व छलि गरेर प्याज चोरी पैठारी गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान गरिएको हो। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ अनुसार उनीहरूलाई कारबाही अघि बढाइएको छ।
राजस्व चुहावटबापत बिगो तथा जरिवाना गरेर कुल ३६ लाख ५८ हजार १०० रुपैयाँ मागदाबी गरिएको छ। साथै, ट्रक जफत गर्ने प्रयोजनका लागि ट्रक मालिक यादवलाई प्रतिवादी बनाइएको छ।