धनुषा । निर्देशन अवज्ञा गर्दै गोप्य तरिकाले सञ्चालनमा रहेको जनकपुरधामस्थित अस्पताल पुनः बन्द गराइएको छ। बन्दको सूचना टाँस रहेको जनकपुर सीता अस्पताल प्रालि सोमबार पून: बन्द गराइएको हो ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको एकेडेमिक भवन शिलान्यास गरी मुख्यमन्त्रीको सरकारी निवासतर्फ फर्कँदै गर्दा अनिश्चितकालका लागि सेवा बन्द बोर्ड मूल गेटमा झुन्ड्याइए पनि त्यस वरपर शङ्कास्पद गतिविधि देखिएपछि मुख्यमन्त्री सिँहले अनुगमन गर्दा थापाचोकस्थित उक्त अस्पतालले बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र पाँचजना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको अवस्थामा मुख्यमन्त्री सतिस सिंहले भेटेका थिए ।
जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।

सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पुरा नगरेको सो अस्पताललाई मुख्यमन्त्रीसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनक्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएको थियो ।