काठमाण्डौँ । शुक्रबारको आन्दोलनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा लुट मच्चाउनेलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ । लुटमा संलग्नहरूमध्ये ६ जनालाई शनिबार पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
तीनकुने केन्द्र बनाएर गरिएको आन्दोलनका क्रममा गरिएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादीमध्ये अहिलेसम्म १११ जना पक्राउ परेका छन् । जसमध्ये भाटभटेनीमा दिनदहाडै भएको लुटमा संलग्नमध्ये शुक्रबार र शनिबार गरेर ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट भएको थियो ।
जसमध्ये ठूलो लुटपाट भाटभटेनीमा मच्चाइएको थियो । प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद तस्बिर र भिडियोका आधारमा राजावादी पक्राउ गरिरहेको छ ।
प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने काम तीव्र बनाएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये भाटभटेनी प्रकरणमा ६ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सबै महिला छन् ।
प्रहरीका अनुसार भाटभटेनी लुटमा संलग्नमध्ये सिन्धुलीकी १५ वर्षीया चित्रमाया बस्नेत र १७ वर्षीया सुस्मिता बराल, सिन्धुपाल्चोककी ३७ वर्षीया निर्मला कार्की, नुवाकोटकी ४३ वर्षीया सुशीला कुमाल पनि यस प्रकरणमा नरेफाँटबाट पक्राउ परेकी छन् ।
धरानकी ४१ वर्षीया एलिसा राईलाई पनि प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । कोटेश्वरबाट ७० वर्षीया बालकुमारी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको बताइएको छ ।