काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाललाई जरिवानाको रकम किन नतिरेको भन्दै प्रश्न गरेका छन्।
शनिबार रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै मेयर बालेनले यस्तो प्रश्न गरेका हुन् ।
कमेन्टमा उनले लेखेका छन्, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो । मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाँहि किन नतिरेको पैसा?’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउँदै शनिबार सामाजिक सञ्जालमा रिमालले ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटे छन् । यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो’ भन्दै लेखेका थिए।
यही स्टाटसमा मेयर बालेनले प्रश्नसहितको कमेन्ट गरेका हुन् ।
गत मसिर ७ गते काठमाडौँको दरबारमार्गमा जनप्रदर्शन आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो । जुन जरिवाना हालसम्म पनि एमालेले नतिरेको महानगरले बताउँदै आएको छ।