जनमत पार्टीले काठमाडौंमा शुक्रबार राजावादी समर्थकबाट प्रदर्शनसंगै विभिन्न ठाउँमा भएको घटना अराजक गतिविधि रहेको जनाएको छ ।
जनमत पार्टी प्रवक्ता शरद सिंह यादवले शनिबार एक विज्ञप्ति जारी गरी १५ चैतमा काठमाडौंका विभिन्न ठाउँमा घटेको घटना त्रासदीपूर्ण रहेको जनाएका छन् ।
उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई रहेको विज्ञप्तिमा भनेका छन् ।
तर शुक्रबार केही समूहहरुले काठमाडौंका विभिन्न ठाउँमा अराजक गतिविधि गरेको बताउँदै उनले उक्त अराजकताप्रति कडा कडा भत्र्सना गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ,‘लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्न अधिकार हुन्छ, तर १५ गते केही समूहले काठमाडौंको तीनकुने, कोटेश्वर तथा अन्य क्षेत्रमा प्रदर्शनका क्रममा अराजक गतिविधिहरु गर्यो, जसप्रति जनमतको घोर भत्र्सना छ ।’
साथै जारी विज्ञप्तिमार्फत जनमत प्रवक्ता यादवले हिजो ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।