सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा संलग्नहरूमध्ये एक जना कारागार चलान भएका छन्।
सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो। सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार चलान गर्ने आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए।
साथै, अदालतले घटनामा पञ्चायती गर्ने अन्य ६ जनालाई जनही डेढ लाख रुपैयाँ धरौटी माग गरेको छ। धरौटीमा रिहा गरिएकाहरूमा रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा, तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त रहेका छन्।
बलात्कारका मुख्य आरोपित दुई नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडेको छ। यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको छ।
तर, घटनामा संलग्न १० जना अझै फरार छन्। तीमध्ये बलात्कारका आरोपित दुई नाबालकसहित घटनालाई गाउँमै मिलाउन संलग्न आठ जनाविरुद्ध अदालतले कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ।
बलात्कारपछि गाउँमै पञ्चायती, प्रहरीले चासो नदिएको आरोप
माघ २७ गते राति शौच गर्न गएकी किशोरीलाई गाउँकै तीन जनाले जबरजस्ती करणी गरेका थिए। कपडा च्यातिएको र शरीरमा माटो लागेको अवस्थामा उनी भोलिपल्ट बिहान घर फर्केकी थिइन्। आमाले सोध्दा उनले आफू बलात्कृत भएको खुलासा गरेकी थिइन्।
तर, घटनाबारे गाउँमा हल्ला फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गर्नुको साटो ‘पञ्चायती’ गरेका थिए। करिब ३० जना सहभागी पञ्चायतीले बलात्कारीहरूले पीडित पक्षलाई एक लाख ४० हजार रुपैयाँ दिने र प्रहरीमा उजुरी नगराउने निर्णय सुनाएको थियो।
किशोरीको शंकास्पद मृत्यु, परिवारमाथि दबाबको आरोप
बलात्कारको भोलिपल्ट किशोरीको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उनलाई उपचारका लागि अस्पताल लैजानुपर्ने माग परिवारले गरे पनि गाउँका केही प्रभावशाली व्यक्तिले रोक लगाएको आरोप छ। पीडित परिवारका अनुसार, “हामीले प्रहरीलाई खबर गर्ने भनेपछि गाउँलेहरूले धम्क्याउन थाले।”’
अवस्थामा सुधार नआएपछि फागुन ३ गते उनलाई अस्पताल लगियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो। परिवारले उनको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
फरार प्रतिवादी पक्राउ गर्न माग
पीडित परिवार, मानव अधिकारवादी संस्था, र स्थानीय नागरिकले घटनाका मुख्य दोषीहरू अझै फरार रहेकोमा आपत्ति जनाएका छन्। उनीहरूले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै दबाब बढाइरहेका छन्।
यस घटनाले कानुनको कार्यान्वयन, पञ्चायती न्याय प्रणालीको गलत प्रयोग, तथा समाजमा हुने दबाबको वास्तविकतालाई पुनः उजागर गरेको छ। पीडितका लागि न्याय सुनिश्चित गर्न दोषीहरू सबैलाई छिटोभन्दा छिटो पक्राउ गर्नुपर्ने माग उठिरहेको छ।