धनुषा । महोत्तरीको गौशाला नगरपालिकाबाट एक युवकको शव बरामद भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ बिभत्स हत्या गरिएको अवस्थामा युवकको शव बरामद गरेको प्रहरीले जनाएको छ ।
भारतको मुम्बइबाट आएको करिब ढेड महिनामै नबित्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुर निवासी शिवशंकर महतोको शव फेला पारेको प्रहरीको भनाई छ ।
मृतक महतोकी श्रीमती सृजना महतोले उनको हत्या गराएको परिवारजनको आरोप छ । मृतकका काका रामकुमार महतो भन्छन्, ‘भतिजो भारतको मुम्बइमा होटललाइन काम गर्थ्यो, त्यहाँबाट आएको डेढ, दुइ महिनामा पनि भएको छैन । श्रीमती सृजना महतोले उनको हत्या गराइदिइन् ।’
उनका अनुसार मृतक महतो धेरै गरिब परिवारका हुन । ‘उनीसंग बस्नको लागि मात्र ४/५ धुर घडेरी छ । यहीकारणले श्रीमतीले जहिले पनि म यो घरमा बस्दिन, मलाई बाहिर राख वा डेरामा राख भन्दै पटकपटक यी दुबैजनाको बिचमा झगडा भइरहन्थ्यो । यही बेला उसको श्रीमती पट्टिको नाना (ससुरा बा) को मृत्यु भयो, उनले भने, ‘यही बहानामा उनले आफ्नो श्रीमानलाई फकाएर जबरजस्ती ससुराली लगिन, महेन्द्रनगरको बिच बाटोबाटै अर्को तर्फ पठाएर हत्या गराइन, जुन सिसिटिभि फुटेजमा पनि देखिएको छ।’
उनका अनुसार प्राप्त सिसिटिभि फुटेजमा श्रीमतीले महेन्द्रनगरमा बोलाएर दुइवटा मोटरसाइकल ‘स्ट्यान्डबाइ’ मा राखेका थिइन् ।
उनी भन्छन्, ‘जब आफ्नो बच्चासहित शिवशंकर महेन्द्रनगर पुग्यो, तब त्यो दुइवटा बाइक त्यही यिनीहरुको प्रतिक्षा गरिरहेको सिसिटिभिमा देखिन्छ । त्यसपछि एउटा बाइकमा आफू बसेर उनी माइतर्फत लागिन, अनि श्रीमानलाई अर्को ‘टु ट्वन्टी’ अर्को दिशामा लैजान लगाइन ।’
यही बाइकमा बसेर हिडेँका शिवशंकर भने शनिबार साँझ मृत फेला परेको काका महतो बताउँछन् । उनका अनुसार हाम्रो घरमा त सबै ढुक्क थियौं, शिवशंकर ससुराली गएको छ, त्यो दाहसंस्कारमा सरिक हुन ।
‘तर जब शुक्रबार दिउँसो महोत्तरी प्रहरीले मृतक पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलायो, त्यहाँ पुगेपछि मात्र छोराको ससुराली नपुग्दै हत्या भइसकेको जानकारी हामीले पायौं,’ उनले भने ।
उनका अनुसार अहिले जाहेरी लेखाउने काम भइरहेको छ, घटनामा शंकास्पद सबैलाई समेटेर कानुनी कारबाही गराइनेछ ।
यही ८ गते साँझ फेला परेको शवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवालले बताए ।
उनका अनुसार घटनाको अवस्था हेर्दा धारिलो हतियार प्रयोग गरी उनको ज्यान लिइएको छ । ‘त्यसकारण यो हत्या भएको हुन सक्ने विश्लेषणसहित हामीले त्यही अनुसारको अनुसन्धान अगाडि बढाएका छौं,’उनले भने ।
शुक्रबार साँझ फेला परेको शवको सनाखत भने आज मात्र क्लियर गरिएको प्रहरी प्रवक्ता जैसवालले बताए ।
उनी भन्छन्,‘ घटनास्थलको प्रकृति हेर्दा महातो हत्या भएको हाम्रो आंकलन छ, यहीकारणले हामीले यो घटनालाई हत्या भएकै पाटोबाट अनुसन्धान सुरु गरेका छौं ।अहिलेसम्म जाहेरी आइपुगेको छैन, जाहेरी परेपछि हामीले यसलाई त्यसमा टेकेर अगाडि बढ्छौं ।’