धनुषा । बसको ठक्करबाट धनुषामा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ७ बाबाको ढाबा स्थित ढल्केबर-जनकपुर सडकखण्डमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको बा.प्र ०३-००१ ख ३४४१ नम्बरको बसको ठक्करबाट लक्ष्मिनिया-१ सिनुरजोडा निवासी ७० वर्षका रबिन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट शरिरको विभिन्न भागमा चोट लागेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि सेन्ट्रल अस्पतालमा पुर्याँउदा चिकित्सकले मृत घोषित गरेका प्रहरीको भनाइ छ ।
प्रहरीले बस र चालक मिथिला नगरपालिका-१० लालगढ बस्ने ४० का बिदुर पोख्रेललाई पक्राउ गरेको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।