
जनकपुर । धनुषामा प्रहरीले हवाइ फायर गरेर भन्सार छलीको सामान बरामद गरेको छ ।
तस्करी गरी गोदाममा भण्डारण गरिएका सामान प्रहरीले एक राउण्ड हवाइ फायर गरेर प्रहरी नियन्त्रणमा लिन सफल भएको हो । गोदाममा लुकाइछिपाइ राखेको सामान छापामारी प्रहरी कार्यालयमा लैजान खोज्दा उत्पन्न विवादपछि प्रहरीले हवाइ फायर गर्नु परेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका –६ स्थितको एक भूस गोदाममा प्रहरीले छापा मारेको थियो । छापामारी गर्दा उक्त गोदामबाट प्रहरीले भन्सार छलीका १४ बोरा विभिन्न सामानहरु फेला पार्यो ।
प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार भन्सार छलीका बरामद यही सामान प्रहरी कार्यालयमा लैजान खोज्दा केही स्थानीयले प्रहरीमाथि जाइलाग्यो । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै अवरोध गर्न खोजेपछि जवाफी कारबाहीमा प्रहरी एक राउण्ड हवाइ फायर गर्नु परेको उनी बताउँछन् ।
आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरिएको प्रहरी प्रवक्ता सिंह बताउँछन् । प्रहरीका अनुसार स्थानीय बद्री यादवको भूसको गोदामबाट १४ बोरा भन्सार छलीका अबैध सामान बरामद भएको छ ।
बरामद बोरामा खासगरी जुत्ता, चप्पल, मोबाइलका सामानहरुसहितका अन्य सामान रहेको धनुषा प्रहरी प्रवक्ता सिंहले जनाए ।
‘सबै सामान प्रहरी कार्यालय ल्याइसकिएको छ, अब जाँच गर्ने काम भइरहेको छ । त्यसकारण के–के सामान छन्, त्यो एकछिनमा क्लियर हुनेछ,’ उनले भने ।