
वीरगन्ज । ठाकुरराम बहुमसखी क्याम्पसमा रोकिएको मतगणनाको निरन्तरताको माग गर्दै आज वीरगन्जमा जुलुस प्रदर्शन गरिएको छ ।
नेपाल विद्यार्थी समूहले मतगणनाको निरन्तरताको माग गर्दै क्याम्पस आसपास क्षेत्रमा जुलुस निकालेको हो ।
नेपाल विद्यार्थी संघका केन्द्रिय समिति सदस्य बिकेश पटेल र मुनराज तिवारीसहितको नेतृत्वमा जुलुस निकालेको थियो ।
ठाकुरराम क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित निकालिएको जुलुस नगरपालिकासहितको क्षेत्रको परिक्रममा गरेको थियो ।
क्याम्पसमा ‘दादागिरी चल्दैन्, काउन्टिङ सुरु गर’ नारा लगाउँदै जुलुस निकालिएको हो ।
मतणना स्थगन भएको १२ घण्टा भन्दा बढी भइसक्दा पनि काउन्टिङको सुरसार नदेखिएपछि जुलुस निकालिएको नेविसंघका केन्द्रिय सदस्य बिकेश पटेल बताउँछन् ।
उनका अनुसार चाँडै मतगणनाको लागि प्रक्रिया अगाडि नबढाइए बजार बन्द हुनेछ । ‘निर्वाचन समितिले मनपरी गरे नेपाल विद्यार्थी समूहको अगुवाइमा बजार बन्द गराउनेछौं,’ उनले भने ।
मतपेटिकाको सिल नम्बरमा मेल नखाएको भन्दै उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएपछि सबै दलको सहमति मतगणना हिजो दिउँसो देखि स्थगन गरिएको छ ।
निर्वाचन समितिले एक सूचना निकाल्दै केही समयका लागि मतगणना स्थगन गरिएको जानकारी दिएको छ ।