ट्रेन्डिङ

एसईई परीक्षा : पहिलो दिनको परीक्षामा मधेसबाट साढे ७९ हजार विद्यार्थी उपस्थित, कति अनुपस्थित ?

८१ हजार जनाले भरेका थिए फर्म

धनुषा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि सञ्चालित परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ । यद्यपि पहिलो दिनको परीक्षामा मधेस प्रदेशमा धेरै विद्यार्थी अनुपस्थित (गयल) रहेको पाइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पहिलो दिनको परीक्षामा प्रदेशभर २ हजार भन्दा बढी विद्यार्थी अनुपस्थित भएका छन् । परीक्षामा कुल सहभागी हुनुपर्ने विद्यार्थीको संख्या भन्दा कम २ हजार १७१ जना कम विद्यार्थी सहभागी भएको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाका अनुसार यस वर्षको एसईईका लागि मधेसबाट कुल ८१ हजार ७३१ विद्यार्थीले परीक्षा फर्म भरेका थिए । जसमध्ये ७९ हजार ५६० विद्यार्थीले मात्र पहिलो दिनको परीक्षा दिएका उनको भनाइ छ ।

कुन जिल्लाबाट कति विद्यार्थीको फर्म ?

जिल्ला शिक्षा बिकास तथा समन्वय एकाइका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आ-आफ्नो विद्यालयबाट परीक्षा फर्म भरेका थिए । जसअनुसार पर्साबाट ९८०२, बाराबाट ८३३३, रौतहटबाट ९६६३, सर्लाहीबाट १११०९, महोत्तरीबाट ९८३७, सिरहाबाट १०५७२, सप्तरीबाट ८७५६ र धनुषाबाट १३६५९ जना विद्यार्थीले परीक्षा फर्म भरेका थिए ।

परीक्षामा सहभागी हुनको लागि फर्म भरेर सबै आवश्यक कागजातसमेत लिएर गएको सप्तरी शिक्षा विकास तथा इकाइ समन्वय समितिका शशी यादवले बताए । तरपनि धेरै विद्यार्थी आज पहिलो दिनको परीक्षामा अनुपस्थित रहेको पाइएको उनले सुनाए ।

विद्यार्थीहरु किन अनुपस्थित भए ? त्यसबारे मिटिङ गरेर विश्लेषण गर्ने तयारीमा लागेको उनको भनाइ छ ।

कतिले दिए परीक्षा ?

यसरी प्रदेशका ८ वटा जिल्लाबाट ८० हजार भन्दा बढी विद्यार्थीले परीक्षामा सहभागी हुनका लागि फर्म भरेका थिए ।

तर आज पहिलो दिनको परीक्षामा हरेक जिल्लामा फर्म भरेका विद्यार्थीहरु अनुपस्थित रहेको हरेक जिल्लाको शिक्षा विकास तथा इकाइ समन्वय समितिको तथ्यांकले देखाइरहेको छ ।

तर आठवटै जिल्लाका शिक्षा विकास तथा इकाइ समन्वय समितिले उपलब्ध गराएको विवरण अनुसार मधेसका पर्सामा ९४५९, बारामा ८२२८, रौतहटमा ९३६९, सर्लाहीमा १०९४९, महोत्तरीमा ९६२४, धनुषामा १३५५९, सिरहामा १०२१७ र सप्तरीमा ८१५५ जना विद्यार्थीहरुले आज पहिलो दिनको परीक्षा दिएका छन् ।

यी विद्यार्थीहरुले पर्साको २९, बाराको ४१, रौतहटको ४०, सर्लाहीको ३८, महोत्तरीको ३२, धनुषाको ४५, सिरहाको ५० र सप्तरीको ३७ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएको मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ ।

यसैगरी परीक्षा सञ्चालन हुने ३१२ परीक्षा केन्द्रमा ३१२ जना केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, चार हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक, एक हजार ६६६ जना सहयोगी कर्मचारी परीक्षामा खटाइएको शिक्षा निर्देशनालयले जनाएको छ ।

हरेक जिल्लाबाट कति अनुपस्थित ?

यो वर्षको एसईई परीक्षामा गयल हुनेको संख्या लामै छ । प्रदेशको ८ वटै जिल्लामा सरदरमा सय भन्दा बढी हरेक जिल्लामा विद्यार्थी परीक्षा दिन अनुपस्थित भएका छन् ।

जिल्लाका शिक्षा विकास तथा इकाइ समन्वयहरुले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा ३४३, बारामा १०५, रौतहटमा २९४, सर्लाहीमा १६०, महोत्तरीमा २१३, सिरहामा ३५५, सप्तरीमा ६०१ र धनुषामा १०० जना विद्यार्थीहरु परीक्षा दिन अनुपस्थित भएका छन् ।

यसमा नियमित, प्राविधिक र ग्रेडवृद्धि विद्यार्थीको सङ्ख्या रहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै