
वीरगन्ज । सिलबन्दी नम्बर मेल नखाएपछि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ ।
बिहीबार दिउँसोदेखि मतपेटिकामा लगाइएको सिलबन्दी नम्बर मेल नखाएपछि मतगणना अवरुद्ध भएको हो ।
जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधिहरूलाई सिलबन्दी नम्बर दिएको थियो ।
त्यही नम्बर बिहीबार दिउँसो मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि भएको विवादका कारण मतगणना अवरुद्ध भएको हो ।
यसरी सिलबन्दी नम्बर नै फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा राजकुमार यादव अग्रस्थानमा छन् । उनले ४ सय २० मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन भने सुधिर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।
मतगणनास्थलमा अहिले पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ ।