
साइप्रस । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।
तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेस प्रदेशका झण्डै ८९ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
आज (चैत ७) गतदेखि सुरु हुने परीक्षामा प्रदेशका ८८ हजार ८५८ विद्यार्थी सहभागी हुने मधेस प्रदेश शिक्षा बिकास निर्देशनालय जनकपुरधामले जनाएको छ ।
प्रदेशका आठै वटा जिल्लाको ३१२ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको निर्देशनालयका निर्देशक ठुलोबाबु दाहालले बताए ।
उनका अनुसार आजदेखि सञ्चालन हुने एसईई परीक्षामा सबैभन्दा बढी प्रदेश राजधानी धनुषा जिल्लाका विद्यार्थीले परीक्षा दिनेछन् ।
अर्थात् धनुषाको ४५ वटा केन्द्रबाट १३ हजार ६५४ जनाले परीक्षामा भाग लिने बताइएको छ ।
यसैगरी पर्साको २९ परीक्षा केन्द्रबाट १२ हजार ६३७, सर्लाहीका ३८ परीक्षा केन्द्रबाट १२ हजार ३२, सिरहाका ४९ परीक्षा केन्द्रबाट १० हजार ७०३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।
यस्तै महोत्तरीका ३२ परीक्षा केन्द्रबाट १० हजार ९५२, रौतहटका ४० केन्द्रबाट १० हजार ४७९ जनाले परीक्षा दिनेछन ।
मधेसको सप्तरी जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
त्यहाँका ३७ परीक्षा केन्द्रबाट ८ हजार ७१५ जना विद्यार्थी एसईई परीक्षामा भाग लिने निर्देशनालयको तथ्यांक छ ।
त्यस्तै बाराका ४२ परीक्षा केन्द्रबाट ९ हजार ६८६ जना परीक्षार्थीले यसवर्षको एसईईको परीक्षा दिने निर्देशनालयले जनायो ।
परीक्षा सञ्चालन हुने ३१२ परीक्षा केन्द्रमा ३१२ जना केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, चार हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक, एक हजार ६६६ जना सहयोगी कर्मचारी परीक्षामा खटिनेछन् । यस्तै चार हजार ६८० जना सुरक्षाकर्मी समेत परिचालन हुने जनाइएको छ ।
यद्यपी, मधेस शिक्षा निर्देशनालयले उपलब्ध गराएको तथ्यांक जिल्लागत रुपमा मिल्दोजुल्दो छैन ।
अर्थात् मधेस प्रदेशबाट यसवर्ष एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सङ्ख्या मधेस प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गतको शिक्षा बिकास निर्देशनालय र जिल्ला शिक्षा बिकास तथा समन्वय एकाई कार्यालयको तथ्यांक फरक-फरक छन् ।
प्रदेश सरकारले यसवर्षको एसईई परीक्षा बहिष्कार गर्दा डाटा पनि फरक आएको आरोपसमेत लाग्न थालेको छ ।
मुख्यमन्त्री सतिस सिंहले पत्रकार सम्मेलन गर्दै एसईई परीक्षामा धेरै नै धान्धली हुने गरेको भन्दै बहिष्कार गर्ने निर्णय गरेका थिए ।
यसबारे प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दाहालले जिल्लासँग प्रदेशको डाटामा थपघट भएको स्विकारे ।
उनले भने, ‘हामीले यो तथ्यांक एक महिना अगाडि नै लिएका हौँ, त्यो बेला परीक्षा फारम भर्ने विद्यार्थीको सङ्ख्या आधारमा हामीले ईन्ट्री गरेका हौँ । पछि कति विद्यार्थीले रजिस्ट्रेसन फारम नभर्दा, एडमिट कार्ड नलिदाँ सङख्यामा केही अन्तर आएको हो ।’