
बीरगन्ज । तराई मधेशमा उखरमाउलो गर्मीका कारण विद्यालयका बालबालिकाहरु प्रभावित भएका छन् ।
पछिल्लो केही दिनदेखि बढ्दो गर्मीका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरुमा कक्षा कोठामै विद्यार्थीहरु बेहास हुन थालेका हुन् । पर्सासहित बारा तथा रौतहटका विद्यालयमा कक्षा कोठामा विद्यार्थीहरु बेहोस हुन थालेका हुन् ।
यसरी विद्यार्थी बेहोस हुन थालेपछि विद्यार्थीको स्वस्थ्यलाई मध्यनजर गर्दै अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ भने कतिपय विद्यालयले गर्मी बिदा समेत दिएका छन् ।
गर्मी अत्यधिक बढेका कारण रौतहटको राजदेवी नगरपालिका स्थित श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरू बेहोस भएका थिए । बेहोस छात्रछात्रालाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट प्रादेशिक अस्पताल गौर लगिएको थियो ।
उपचार पछि उनीहरू पूर्ण रूपमा निको भएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटले जानकारी दिएको छ । विद्यार्थीलाई अनुकुल वातावरणमा अध्यापन गराउनका लागि राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको साढे ६ बजेदेखि गरिएको छ ।
यसैगरी चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ । त्यस्तै कटहरिया नगरपालिकाले समेत आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि मातहतका सम्पूर्ण विद्यालयमा बिहान साढे ६बजेदेखि कक्षा सन्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान साढे ६ देखि गरेको छ ।
महोत्तरीमा विद्यालय बन्द
पछिल्लो समय अचानक बढेको गर्मीका कारण जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द गरिएको छ । एकाबिहानैदेखि चर्को घाम लागेर र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि विद्यालयमा पठनपाठन बन्द गरेका हुन् ।
ती पालिकाहरुले आजदेखि चार दिनका लागि विद्यालयमा पठनपाठन ठप्प रहने जानकारी गराएका छन् । जिल्लाका जलेश्वर, मनरासिस्वा, बर्दिबास नगरपालिका तथा महोत्तरी गाउँपालिकाले आजदेखि मातहतका विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।
यसअघि पर्साको बीरगन्ज महानगरपालिकाले समेत मातहतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा दुुई दिन ( आज र भोली) विद्यालय बन्द गरिसकेको छ । पर्साकै अन्य पालिकाहरुले समेत कक्षाकोठामा विद्यार्थीहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरेका छन् ।
यसैगरी बारामा समेत अधिकांश पालिकाहरुले समेत विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गरेका छन् ।