ट्रेन्डिङ

पर्सामा एसईईको तयारी पूरा, कहाँ–कहाँ तोकिए परीक्षा केन्द्र ?

जिल्लाभरबाट झण्डै साढे ११ हजार जनाले परीक्षा दिने

साइप्रस । भोलीदेखि (चैत ७ ) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पर्सा जिल्लामा पनि पूरा भएको छ ।

कर्मचारी खटाउने, परीक्षा केन्द्र निधारणसहित अन्य व्यवस्थापनका काम भएसंगै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा बिकास तथा समन्वय एकाई पर्साले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाई पर्सा प्रमुख हरि राउतका अनुसार यस वर्ष जिल्लाबाट ११ हजार ४१३ जना परीक्षार्थीले एसईई परीक्षा दिँदैछन् ।

यसवर्ष जिल्लाभरबाट परीक्षामा पाँच हजार ७३६ जना छात्रा र पाँच हजार ६७७ जना छात्र गरी जम्मा ११ हजार ४१३ जना परीक्षार्थी सहभागी भइरहेको शिक्षा कार्यालयले जानकारी दिएको हो । जसअनुसार नियमिततर्फ ९ हजार ९७३, प्राविधिकधारतर्फ २१० र ग्रेडवृद्धितर्फ एक हजार २३० जना परिक्षार्थीले भाग लिइरहेको उनले बताए ।

परिक्षार्थीहरुमध्ये साधारणतर्फ ७ वटा विषय र प्राविधिकधारतर्फ ९ वटा विषयको परीक्षा दिने उनले बताए । ‘जिल्लाभरबाट १४५ वटा विद्यालयका विद्यार्थीहरुले परीक्षा दिनेछन्, जसमध्ये यहाँका ७० सामुदायिक र ७५ संस्थागत विद्यालयका विद्यार्थी छन्,’ उनले भने ।

यो वर्ष पर्सा जिल्लामा २९ वटा परीक्षा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । वीरगञ्ज महानगरपालिकाभित्र १७ वटा विद्यालय र वीरगञ्ज बाहिर १२ वटा विद्यालय गरी जम्मा २९ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाई पर्सा प्रमुख राउत बताउँछन् ।

कहाँ कहाँ तोकिएको छ केन्द्र ?

एसईई परीक्षाका लागि वीरगन्ज महानगरपालिका अर्न्तगत नेरा मावि श्रीपुर, सुरजीदेवि मावि मुरली, सिद्धार्थ मावि, नृसिंह मावि पिपरामठ (क), नृसिंह मावि पिपरामठ (ख), दारदेवि मावि अलौँ, नेरा मावि सोलखपुर, अल्पाइन मावि श्रीपुर, शारदा मावि बहुअरी सुगौली, त्रिजुद्ध मावि (क), त्रिजुद्ध मावि (ख), कन्या मावि, त्रिभुवन हनु्‌मान मावि, नेरा मावि नगवा, माइस्थान विद्यापिठ मावि, नेपाल रेल्वे मावि र पन्नालाल मावि आदर्शनगरमा केन्द्र तोकिएको छ ।

यस्तै पर्सागढी नगरपालिकाको नेरा मावि बर्वा छटौली, नेरा मावि बडेर्वा, औराहा पचँगावाको दिप नारायण मावि, राधा कृष्ण चौरसिया मावि बहुअर्वा भाठ्ठा, जगरनाथपुरको नेरा मावि मसिहानी, पोखरीयाको जिल्ला उच्चांगल मावि, पकाहामैनपुरको रामचरित्र भगत मावि, छिपहरमाईको मंगल मावि भिस्वा, जिराभवानी वितो महतो जनता मावि जितपुर, नेरा मावि निचुँटा, श्री मावि विजयवस्ती ठोरी, बहुदरमाई देव नन्दन देवराज मावि रामनगरी गरी २९ विद्यालयमा केन्द्र तोकिएको बताइन्छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट आएको प्रश्नपत्रहरु जिल्ला प्रहरी कार्यालय पर्सामार्फत सम्बन्धित परीक्षा केन्द्रमा वितरण गरिनेछ ।

जिल्ला अर्न्तगतका २९ केन्द्रहरुका लागि प्रहरी चौकीहरुमार्फत प्रश्नपत्रहरु सम्बन्धित केन्द्रमा पठाइएको छ । प्रहरी कार्यालयमार्फत पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुपूर्व केही समय अघि मात्रै सम्बन्धित परीक्षा केन्द्रमा पठाइने छन् ।

प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको हो । एसईई परीक्षाका लागि पर्सा जिल्लाका केन्द्रहरुमा २९ जना केन्द्राध्यक्ष र ६९ जना सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।

यसैगरी विद्यालयहरुमा परीक्षा अवधिभर ६२९ जना निरिक्षक, ११४ जना परीक्षा सहायक, २४० जना कार्यालय सहयोगी तथा सुरक्षाकर्मी समेत परिचालित गरिने जनाइएको छ ।

पास हुन परीक्षार्थीहरुले अनिवार्य रुपले ३५ प्रतिशत ल्याउनुपर्ने हुन्छ । एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । एसईई परीक्षा चैत्र १९ गते मंगलबारसम्म सञ्चालन रहने कार्यतालिका छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै