वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सकिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिसहितको पदाधिकारी चयनको लागि विहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।
ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचनमा ४० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति प्रमुख दिलीप सिंहले साढे ७ घन्टा चलेको भोटिङमा ४३०६ वटा मत खसेको बताए ।
उनका अनुसार कुल मतदाताको ४० प्रतिशत मात्रै खसेको हो ।
ठाकुरराम क्याम्पसमा आज भएको निर्वाचनमा १० हजार ७ सय २९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
सम्पन्न निर्वाचनको मतगणना आजै गर्ने वा भोली गर्ने ? त्यसबारे सबै सङ्गठन तथा समूहसग छलफल गरेर केही बेरमा टुङ्गो लगाइने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।