जनकपुर । लहान नगरपालिका पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ ।
लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने लागेको हो ।
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा अस्पताल बन्न लागेको जनाइएको छ ।
करिब दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले बताए ।
उनका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको कबिर ११ बिघा जग्गामा अस्पताल बन्ने भएको छ भने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य राखिएको उनी बताउँछन् ।
पालिकाको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गएको ४ माघदेखि ओपिडी सेवा सञ्चालन भइसकेको छ, सोमबार भने त्यसको औपचारिक उद्घाटन गरिएको हो ।
लहान नगरपालिका नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताए ।
अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास लिइएको छ ।