काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादी शाक्तिहरुले आज काठमाडौंमा जुलुससहित स्वागतको तयारी गरेका छन् ।
पोखराबाट आज काठमाडौँ फर्किने भएपछि राजावादी शाक्तिहरुले आज जुलुससहित स्वागतको तयारी गरेका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुट नै तय गरेर जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको जनाइएको छ ।
पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको बताए ।
काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन)बाट आउनेहरूलाई तीनकुनेमा भेला हुने कार्यतालिका छ ।
त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ ।
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान, राप्रपा नेपाललगायतले पनि आफ्ना कार्यकर्तालाई स्वागतको लागि विमानस्थल पुग्न आग्रह गरेका छन् ।
राजावादीहरुले जुलुससहित पूर्वराजाको स्वागत गर्ने तयारी गरेपनि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।