काठमाण्डौँ । महाशिवरात्रीको पूजा गर्न पशुपति क्षेत्रमा जाने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ ।
नेपाल प्रहरीले भीडभाँडमा आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो ।
महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जनाइएको छ । समस्या परेमा जानकारी गराउन पनि अनुरोध प्रहरीको छ ।
आज साँझ एक सूचना जारी गर्दै जिल्ला प्रहरी परिसर काठमाण्डौँका प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारीले धार्मिक आस्थाका नाममा विभिन्न आपराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन अपील गरे । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिकता दिन उनले अनुरोध गरे । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन उनको अनुरोध छ ।
बाहिरी क्षेत्रमा ड्रोन क्यामेराबाट पनि निगरानी हुने तथा सिसी टिभीबाट पनि निगरानी हुने जानकारी गराउँदै प्रहरीले सादा पोसाकमासमेत प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।
चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।
यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपतिको सुरक्षाका लागि ८०० भन्दा बढी प्रहरी परिचालन गरेको र ट्राफिक रूटको पनि व्यवस्थापन गरिएको जानकारी गराएको छ । ट्राफिक प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले पशुपति क्षेत्रमा आउने दर्शनार्थीको सहजताका लागि तोकिएका क्षेत्रमा सवारी पार्किङ गरी सवारी व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गरे । प्रहरी प्रधान कार्यालयले पशुपति क्षेत्रको सुरक्षाको सबै तयारी पूरा भएको पनि जानकारी गराएको छ ।